काठमाडौं । रौतहटको गौरमा १६ वर्षअघि भएको गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।
दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिट न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।
नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।
तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायत विरुद्ध कारबाहीको माग गर्दै दिएको जाहेरीमा कारबाही नभएपछि सर्वोच्चमा रिट दिइएको बताइएको छ ।
२०६३ चैतमा रौतहटको गौरस्थित राइसमिलको चौरमा भएको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए । पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ ।
Leave a Reply