काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हुन नसक्ने टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै राप्रपाको संसदीय दलका नेता समेत रहेका लिङ्देनले यस्तो बताएका हुन् ।
लिङदेनले राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरे ।
लिङ्देनले भने– ‘राष्ट्रपति कार्यालय मन्त्रिपरिषदको आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन । कसको स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरियो ।’
लिङदेनले यत्रो दिन किन नागरिकता विधेयकमा सरकारको चासो भएन र भारत भ्रमण अघि कसको स्वार्थमा प्रमाणीकरण गरियो भन्दै प्रश्न गरे । लिङदेनले चाँडोभन्दा चाँडो संसदबाट प्रक्रिया पुर्याएर नागरिकता विधेयक पारित गर्न माग गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको निष्क्रिय नागरिकता विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दल राप्रपा, रास्वपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।