काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रेशम चौधरीलाई सरकारले नै योजनावद्ध रुपमा कैदमुक्त गरेको बताएको छ । गणतन्त्र दिवसको अवसर पारेर (सोमबार) चौधरीसहितका कैदीलाई छुटाउन राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिइसकेका छन् ।
रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको सो कदम पूर्वाग्रही भएको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै विद्यमान कानुन संशोधन गरेर वा अन्य तरिकाले रेशमलाई छुटाउन सरकार लागिपरेको कुरा खुलेर भनेको रास्वपाले जारी गरेको विज्ञप्ति भनिएको छ ।
आइतबार साँझ एक विज्ञप्ति निकाल्दै रास्वपाले भनेको छ, ‘सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’
साथै, गणतन्त्र दिवसको दिन चौधरीलाई छुटाउन नियोजि रुपमा नै सरकार लाग्नु विधि सम्मत नभएको पनि बताएको छ। कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुन नहुने रास्वपाले बताएको छ।