काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो चेतावनी दिएका हुन् । नेता खनालले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए ।
नेता खनालले भने, ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ । संलग्न देखिएका मानिसलाई धिक्कार छ । यो लज्जास्पद छ । यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्ण रूपले टुङ्गोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन् ।’
उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान पनि आग्रह गरे । खनालले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । नेता खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए ।