काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो सुन तलमाथि भएको बताएका छन् ।
सांसद दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको जलहरी राख्ने क्रममा ११ किलो सुन तलमाथि भएको भन्दै त्यसको जिम्मेवारी पूर्वप्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका हुन् ।
सांसद दाहालले भने, ‘माननीय केपी शर्मा ओलीज्यूले यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्ट्राचारीहरूको गठबन्धन हो भन्ने सन्दर्भमा तपाईँले विगततिर फर्कनुस्, तपाईँले विगतमा ३ वर्ष शासन सत्ता सञ्चालन गरिरहँदा त्यहाँ भएका भ्रष्टाचार काण्डहरू कयौँ छन् ती मध्ये यति, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्ट प्रकरणका साथै स्वास्थ्य सामग्रीको २ अरब भ्रष्टाचार काण्ड र त्योसँगै पशुपतिनाथको जलहरी लगाउँदा पित्तल लगाएको काण्ड जसमा ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ ।’
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठक सांसद दाहालले उठाएको पशुपतिको सुनको जलहरीको कुरालाई लिएर एमालेले संसद् अवरुद्ध गरेको थियो ।
सांसद दाहालले आफूले अघिल्लो बैठकमा त्यसबारे बोल्दा केपी ओलीलाई तोकेर नबोलेको र तत्कालीन सरकारको पालामा भएको सो घटनाको जिम्मेवारी ओलीले लिनुपर्ने बताए । उनले जलहारी लगाउँदा १०७ केजी सुन चाँदी खपत भएको भनिएकोमा १० केजी सुन कम लगाइएको दाबी पनि गरे।
Leave a Reply