धनुषा । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी जसपा ले एकलौटी गरेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । मन्त्रिपरिषद विस्तारलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो। तर बैठकमा कुनै ठोस निर्णय हुननसकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो।
तर मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादी आक्रोशित बनेको हो। यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायतका दलहरूसँग माओवादी केन्द्रले छलफल गरिरहेको छ ।