काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिले सम्म १६ जनालाई पक्राउ गरेको छ ।
सुरुवाती चरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरेपछि भुटानी शरणार्थी प्रकरणमा ‘ठूला माछा’ भनिएकाहरु पनि एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् ।
पूर्व गृहमन्त्रीदेखि नेपाल सरकारका सचिव र पूर्व गृहमन्त्रीका सल्लाहाकार समेत यतिबेला प्रहरी खोरमा बस्न बाध्य छन् । नक्कली शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री पत्नीदेखि पूर्वगृहमन्त्री पत्नीको समेत नाम जोडीएको छ ।
यद्यपी प्रहरीले उनीहरुलाई पक्राउ भने गरेको छैन । दुलाल, भण्डारी र गुरुङ पक्राउ परेको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राई पक्राउ परे।
अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पञ्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूलाई संगठित ठगीमा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै गर्दा वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई पक्राउ परे ।
त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे । सोही दिन नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे ।
वैशाख २५ गते प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । त्यसपछि बैशाख २७ गते पूर्व गृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन समयका उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे। छोरा पक्राउ परेपछि फरार भएका पूर्व उर्जामन्त्री एवं एमालेका सचिवसमेत रहेका टोप बहादुर रायमाझी भने बैशाख ३१ गते मात्रै पक्राउ परे ।
नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा जेठ १ गते पक्राउ परे । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल र भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोप लागेका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
Leave a Reply