Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • नेपाल प्रहरीका वरिष्ठ सई पुरूषोत्तमले गरे सगरमाथाको सफल आरोहण

    नेपाल प्रहरीका वरिष्ठ सई पुरूषोत्तमले गरे सगरमाथाको सफल आरोहण

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १००औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रमअन्तर्गत प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले मंगलवार बिहान १०ः१५ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।



    आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा फहराउन सफल भए । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित झण्डाहरू हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल गत वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।



    पहिलोपटक विक्रम संवत् २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६ हजार ११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेको थियो ।

    नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवं साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्वास नेपाल प्रहरीले लिएको छ ।

    आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाइएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरूको आपराधिक क्रियाकलापहरूविरुद्ध ऐक्यबद्धता रहेको र नेपाल प्रहरीको सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार