काठमाडौं । टीकापुर हत्याकाण्डमा अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीविरुद्धको मुद्दामा भोलि पनि सुनुवाइ हुने भएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ । यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाई पाउनुपर्ने भन्दै बहस भएको थियो ।
टिकापुर घटनामा चौधरी लगायत ११ जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते जन्मकैदको फैसला सुनाएको थियो । करिब त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।
सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको छ ।