काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
प्रहरी बृत्त सोह्रखुट्टेक हिरासतमा राखिएका रायमाझीलाई थप अनुसन्धानका लागि म्याद अनुमति लिन अदालतमा उपस्थित गराइन लागिएको हो । गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।
काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी रायमाझीलाई गएराति प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको थियो । रायमाझीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने छ । रायमाझीलाई एमालेले सचिवबाट निलम्बन गरिसकेको छ।
प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्व सांसद आङ्टावा शेर्पा तथा इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, तीनै जना फरार रहेपछि सम्भावित ठाउँमा खोजतलासलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् ।
Leave a Reply