काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान तर्फको भुई तल्ला (चेकइन एरिया) मा सञ्चालन हुन लागेको ब्यागेज र्यापिङको ठेक्कामा ब्यापक अनियमितता भएको पाइएको छ । विमानस्थल कार्यालयले २०७९ असोज १४ गते प्रभाव राष्ट्रिय दैनिकमा व्यागेज र्यापिङका लागि भन्दै १७ बर्ग मिटर क्षेत्रको सटरको बिज्ञापन प्रकाशित गरेको थियो ।
जवकी उक्त विज्ञापन सरकारी दैनिक प्रत्रिकामा प्रकाशित गर्नुपर्ने थियो । संजिव गौतम नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक हुँदा बिमानस्थलको सबै सूचनाहरु गोरखापमात्र राष्ट्रिय दैनिकमा मात्र निकाल्न परिपत्र भएको थियो ।
विमानस्थलका केही भ्रष्ट कर्मचारी र ठेकेदारको मिलेमतोमा गुपचुप रुपमा प्रकाशित गरिएको उक्त सूचानामा ५ बर्षको लागि २४ लाख ४८ हजार मुल्य तोकिएको थियो । जवकी २०६३ कार्तिक १० गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सोही स्थानको ठेक्काको लागि प्रकाशित सूचनामा शाही किरण इन्टरप्राईजेजले तीन वर्षका लागि ३ करोड ९६ हजारमा टेण्डर हालेको थियो ।
१७ वर्ष अघि ७ वटा कम्पनिले ठेक्का हालेका थिए । जसमा सुरज ईन्टरप्राईजेजले १ करोड ४८ लाख ९२ हजार, कार्कि मल्टि ट्रेडले १ करोड ६५ लाख, इनोभेटिभ एच.आर. सोलुसन प्रा.ली. ले १ करोड ३५ लाख ९९ हजार, आर. एण्ड आर ट्रडर्सले ५७ लाख, अलविन ईन्टरप्राइजेजले २ करोड १५ लाख र स्वनीगा सर्भिसेजले १ करोड ६७ लाख ७७ हजार रकम कबोल गरेका थिए ।
त्यतिबेला आफूलाई ठेक्का नपरेपछि स्वनीगा सर्भिसेजले पाटन उच्च आदलतमा मुद्दा हालेको थियो । अदालतले २०७९ सालमा विमानस्थलको पक्षमा फैसला सुनाएपछि स्वनीगा सर्भिसेजका संचालक सुभाष श्रेष्ठले विमानस्थलका तत्कालिन महाप्रबन्धक प्रेमनाथ ठाकुरसँग मिलेमतो गरी कम मूल्यमा ब्यागेज र्यापिङको ठेक्का आब्हान गर्न लगाएका हुन् । ठाकुर अहिले भने बिदेशी वायुसेवा कम्पनिसँग घुस मागको प्रकरणमा निलम्बनमा छन् । सुभाष श्रेष्ठ र ठाकुर व्यवसायीक पार्टनर रहेको आरोप छ ।
श्रेष्ठलाई नै पुनः व्यागेज र्यापिङको ठेक्का दिलाउने योजना अनुरुप २०७९ असोज १४ गते प्रभाव दैनिकमा गुपचुप रुपमा सूचना प्रकाशित गरिएको अहिले खुलेको छ । यसको चाँजोपाँजो मिलाउने काम भने तत्कालिन कर्पोरेट महाशाखा प्रमुख महेन्द्र खनालले गरेको पनि विमानस्थल स्रोतको दावी छ । कांग्रेस निकट मानिने खनाल हाल प्राधिकरणमा सरुवा भएका छन् ।
उक्त सूचानामा ५ बर्षको लागि वार्षिक २४ लाख ४८ हजार मुल्य तोकी सूचना निकालिएको थियो । जवकी यस अघिनै सूचना निकाली ठेक्का लगाउन खोज्दा ३ करोड रकममा लिन व्यापारीहरु इच्छुक थिए । श्रेष्ठले, महाप्रबन्धक ठाकुर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र महाशाखा प्रमुख महेन्द्र खनाललाई लोभ र प्रभावमा पारी कम मुल्यांकन गर्न लगाई सेटिङमा सूचना निकाल्न सफल भए ।
विमानस्थलले सेटिङमा निकालेको २०७९ असोज १४ गतेको सूचना अनुसार ठेक्का प्रकृया पूरा भइसकेको अवस्थामा पनि फस्ने डरले २०७९ साल कार्तिक ३० गते सूचना नै रद्द गराई २०७९ साल फागुन १६ मा पुनः गोरखापत्र दैनिकामा अर्को सूचना प्रकाशित गरिएको छ ।
ब्यागेज र्यापिङका लागि विभिन्न कम्पनीहरु ३ करोड भन्दा बढी भाडा तिर्न इच्छुक हुँदा हुँदै पनि प्रधिकरणका महानिर्देशक अधिकारी, तत्कालिन महाप्रबन्धक ठाकुर र खनालले सुभाष श्रेष्ठलाई उक्त ठेक्का दिलाउनका लागि गरेको यो प्रपञ्चका बारेमा खोजविन हुन जरुरी छ ।
एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिसँग घुस मागको प्रकरणमा विमानस्थलका तत्कालिन महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेर हाइहाइ कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलभित्रको ब्यागेज र्यापिङ प्रकरणमा भने कस्तो पाइला चाल्ने हुन् ? त्यो भने पर्खाइको विषय बनेको छ ।
Leave a Reply