काठमाठौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
पूर्वलडाकुलाई सरकारले जनही दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा संघ नेपालले बुझाएको सात बुँदे ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने विषयबारे जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताए ।
अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताए।
अर्थमन्त्री महतले भने,‘ अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन।’
सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि अर्थमन्त्री महतले आग्रह गरे । अर्थमन्त्री महतले व्यक्तिभन्दा माथि देश रहेको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए ।
अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ ।
Leave a Reply