विराटनगर । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन्।
आज विराटनगर पुगेका अर्थमन्त्री महतले विराटनगर भन्सार कार्यालयका कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
अर्थमन्त्री महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न समेत निर्देशन दिए।
अर्थमन्त्री महतले भने,’तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानूनअनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।’
मन्त्री महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए।
तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।
Leave a Reply