एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि फरार रहेर नेपालमा लुकेको आशंका गरिएका ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ।
बीबीसीका अनुसार अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्।
त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ।
प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ।सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए। १८ मार्चदेखि उनी फरार रहेका थिए।
सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाण्डूस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको यसअघि नेपालको अध्यागमन विभागका अधिकारीहरूले बीबीसीलाई बताएका थिए। उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य(खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्।
सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए।
गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।
अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।
दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।
नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी ‘वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए।
उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्।
उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।
सिंहका सशस्त्र समर्थकहरूले एउटा प्रहरी चौकीमा धावा बोलेका थिए
पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।
सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो।
अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए।
Leave a Reply