काठमाडौं । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको हो ।
आयोगको प्रारम्भिक विवरणअनुसार तीनवटै क्षेत्रमा औषतमा ६० प्रतिशत मतदान भएको छ । मतदानको विवरण भने आयोगको सूचना प्रणालीमा प्रविष्टि हुनेक्रममा रहेको आयोगले जनाएको छ ।
आयोगकाअनुसार बारा-२ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको छ । मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट साँझदेखि नै मतपेटिका संकलन कार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार बारा-२ मा शिक्षा तालिम केन्द्र, कलैया, चितवन-२ मा उद्योग वाणिज्य संघको हल, भरतपुर र तनहुँ-१ मा जिल्ला समन्वय समिति परिसर, दमौलीमा मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ ।
यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने निर्वाचन आयोगले जनाएको छ ।