काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठकका नाममा कानुन विपरीत गरिएका निर्णय खारेज गरेको छ । उपनिर्वाचन हुने क्षेत्रमा कानुन विपरीत विभिन्न निर्णय गरेकाले खारेज गर्न निर्देशन दिएको हो ।
आइतबार बिहान ७ बजेबाट सुरू हुने उपनिर्वाचनमा बारा को देवताल गाउँपालिका–२ स्थित सिंचाई अफिस कल्याणपुरको मतदान केन्द्र ‘क’ र ‘ख’ मा मतदान अधिकृत सहितको सर्वदलीय बैठकले मतदानको समय बढाउने निर्णय गरेको थियो । उक्त निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगले कानून विपरित हुनेगरी अन्यले मतदान गर्नसक्ने बताएको छ ।
'प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) (पहिलो संशोधन) निर्देशिका, २०७९ को दफा ११ मा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार, दफा २१ मा मतदान केन्द्रमा पुगेपछि सर्वदलीय बैठक राख्ने, दफा ३९ मा मतदान गर्ने समय, दफा ५० मा मतदान गर्दा प्राथमिकता दिने र दफा ५२ मा अशक्त मतदातालाई सहायता गर्ने विषयका सम्बन्धमा स्पष्ट व्यवस्था छ। यसर्थ, निर्वाचन सम्बन्धी प्रचलित कानून, निर्देशिका, कार्यविधि तथा आयोगको निर्देशन विपरीतका यस्ता निर्णयहरू बदर गरी प्रचलित कानून बमोजिम मात्र हुने गरी प्रतिनिधि सभा सदस्य उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने गराउने व्यवस्था हुन मुख्य निर्वाचन अधिकृत मार्फत सबै मतदान अधिकृतहरूलाई आयोग निर्देशन गर्दछ', विज्ञप्तिमा उल्लेख छ।
आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
