काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारमामा हेलिकोप्टरको प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै यातायातमार्फत नै प्रचार गर्न सकिने भन्दै उमेदवार र दलका नेता कार्यकर्तालाई हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएको हो ।
“निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरूमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकोप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ ,” आयोगका उपन्यायाधिवक्ता तथा सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
''यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०८० साल बैशाख १० गते हुने उपनिर्वाचनमा उमेदवार, दलका नेतातथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ” विज्ञप्तिमा उल्लेख छ ।
साथै निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन पनि भनिएको छ । वैशाख १० गते बारा(२, चितवन(२ र तनहुँ(१ मा उपनिर्वाचन हुँदैछ ।