सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए।
सो बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने, सीमा सुरक्षा तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उनले बताए।
दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदानप्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको जनाइएको छ ।
बैठकमा सीमा सुरक्षा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रवि केसी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा थिए । चीनबाट बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङ,सहायक प्रमुख युन डान, न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यान, न्यालम कानुन तथा अनुसन्धान प्रमुख जिया सी डुनझुललगायतका अन्य अधिकारी सहभागी थिए ।
Leave a Reply