कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा ट्राफिक संकेतहरु राख्न थालेको छ । धनगढी उपमहानगरपालिकाको सहयोगमा ६ लेन सडकमा कैलाली ट्राफिकले ठाउँ-ठाउँमा ट्राफिक संकेतहरु राख्न थालेको हो ।
६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि सोमबार कैलालीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले आफै खटिएर सांकेतिक चिह्न अंकित बोर्ड लगाएका हुन् ।
ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा सांकेतिक चिह्न अंकित बोर्ड लगाइरहेको छ । सांकेतिक चिह्नले मानिसमा सही लेन प्रयोगको ज्ञानसँगै दुर्घटनाको जोखिम पनि कम गर्ने प्रहरी निरीक्षक जोहोरीको विश्वास छ ।
उनले ६ लेन सडकमा जथाभावी रुपमा लेन प्रयोग गरिन थालेपछि दुर्घटनाको जोखिम बढेको र त्यसलाई न्यूनीकरण गर्दै लेन प्रयोगमा एकरुपता ल्याउन सडक क्षेत्रमा सांकेतिक चिन्ह्रहरु राखिएको बताए ।
जिल्ला ट्राफिक कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिकाले ट्राफिक उपकरणहरू हस्तान्तरण गरेको थियो ।
Leave a Reply