काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार बिहानै संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका शाहले सरकारमाथि कडा टिप्पणी गरेका हुन् ।
आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । त्यसपछि फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाए ।
उनी लेख्छन्,‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?'
यसअघि शनिबार बिहान काठमाडौं महानगरका मेयर शाहले अब सिंहदरबारभित्रको फोहोर नउठ्ने र देश सफा गर्न त्यहाँका नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने लेखेका थिए ।