काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसोको समयमा चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी रु ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोप सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले बताए ।
विश्वकर्माले आफ्नो सुन पसलमा गौतम र परियारले बिक्री गरेको सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारसँगको सोधपुछका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।
Leave a Reply