Online Nepal
  • बुधबार, १० पुष २०८१
  • एआईजी ज्ञवालीबिरुद्ध उजुरीको हाउगुजी, के हो वास्तबिकता ?

    एआईजी ज्ञवालीबिरुद्ध उजुरीको हाउगुजी, के हो वास्तबिकता ?

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट सोमबार मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका श्यामलाल ज्ञवालीको भर्ना प्रक्रिया गलत नभएको पाइएको छ ।

    एआईजी ज्ञवालीले भर्ना हुँदा नै उमेर ढाँटेर कानून विपरित प्रहरी सेवामा प्रवेश गरेको भन्दै कैलालीका शेरबहादुर चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि यो घटना सतहमा आएको हो । जन्ममिति विवादकै कारण एआईजी बढुवाको मुखमा डिआईजी अशोक सिंहले राजिनामा दिएपछि ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
    ज्ञवालीविरुद्ध उजुरी परेलगत्तै आयोगले गृह मन्त्रालयलाई छानबिनका लागि पत्राचार गरिसकेको छ ।



    फरक–फरक जन्ममिति भएको र ज्ञवालीले २५ वर्ष नाघेपछि प्रहरी सेवामा भर्ना भएको भन्दै चन्दले अख्तियारमा उुजुरी हालेका थिए ।



    ज्ञवालीसहित अहिले आईजीपीको प्रतिस्पर्धामा रहेकाहरु २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि आह्वान गरेको दरखास्तअनुसार भर्ना भएका व्यक्तिहरु हुन्।

    प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्मा २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने र पूरा विवरण भएको प्रमाणपत्रलाई आधार मानेर उमेर गणना हुने पनि उल्लेख छ।

    यसलाई आधार मान्ने हो भने ज्ञवाली प्रहरी सेवामा भर्ना हुँदा २५ वर्ष कटिसकेको पुष्टि हुन्छ । ज्ञवालीको शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२५ भदौ २६ गते रहेको छ। २०५० मंसिरमा दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिनाका भइसकेका थिए।

    तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा भने प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो। सोही नियमावली अनुसार नै उनको भर्ना भएको थियो । प्रहरी नियमावली २०४९ को दफा १३ मा (क) मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने उल्लेख छ ।

    २०४९ को नियमावलीअनुसार उमेरको हिसाब गर्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ। अर्थात् ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ।

    उक्त नियमावलीअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको जन्ममिति २०२५ भदौ २६ गतेबाट २०५० वैशाख १ गते २५ वर्ष ननाघेको देखिन्छ । जसअनुसार ज्ञवाली प्रहरीमा भर्ना भएको वर्षको वैशाख १ गते उनको उमेर २४ वर्ष पाँच महिना मात्रै हुुन आउँछ । त्यसैले २०४९ को प्रहरी नियमावलीअनुसार भर्ना भएका ज्ञवालीको उमेरलाई आधार मानेर विवाद सिर्जना गर्नुको कुनै तुक नहुने एक पूर्व एआईजी बताउँछन् ।

    उनी भन्छन्–‘ज्ञवाली मात्रै होइनन् अन्य प्रहरी अधिकारीहरु पनि त्यतिबेला प्रहरी नियमावली २०४९ अनुसार भर्ना भएका हुन् । २०४९ को नियमावली अनुसार भर्ना भएकाहरुलाई प्रहरी नियमावली २०७१ लागुु गर्न मिल्दैन ।’ एआइजी ज्ञवालीलाई दुःख दिन मात्र अहिले बखेडा झिकेको ति अधिकारीको दावी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार