काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको हो ।
निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम राखिएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।
मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ ।
निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ ।
निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् ।
राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।