काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएका छन् ।
सिंहदरबारमा बसेको नौ दलीय गठबन्धनको बैठकपछि लेखक द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि परेको रिटको सन्दर्भलाई लक्षित गर्दै लेखकले भने, 'सर्वोच्च अदालतमा रिट पर्नु स्वभाविक हो । तर यो विषय कुनै एक दलको मात्रै विषय हैन । यो त सिंगो राज्यको विषय हो ।
सबै दल मिलेर यसलाई समाधान गर्नुपर्छ । यसका लागि विधेयकलाई चाँडो भन्दा चाँडो संसदमा अगाडि बढाउनुपर्यो र दोस्रो आयोग गठन गर्नुपर्छ । यसलाई संक्रमणकालीन न्याय पद्दतिबाट मात्रै समाधान गरिनुपर्छ ।'
सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताए । उनले यो कुनै अमुक पार्टीको मात्रै नभएर राज्यको विषय भएको बताए ।
सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने उनको बुझाइ छ । द्वन्द्वकालीन मुद्दालाई सामान्य फौजदारी न्याय सम्पादनबाट समाधान नगरेर संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान गर्नुपर्ने नेता लेखकले बताए ।