काठमाडौं । नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँट निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बिहान साढे ८ बजेका लागि बैठक तय भएको छ। अध्यक्ष प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् ।
सोही विषयमा छलफल हुन लागेको बताइएको छ । यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए।
आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा प्रचण्डले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका थिए ।