काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागू गरेको छ ।
आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनकालागि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गर्ने निणर्य गरेको हो ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।
आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड-७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ। नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।
यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुनेछ।
आज राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ।
राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ भने मंगलबार साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिन सक्ने व्यवस्था छ । त्यसपछि मंगलबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।