काठमाडौं । नेपालले आईसीसी यू–१९ एसियाली छनोटमा कुवेतमाथि शनिबार ठूलो अन्तरको जित निकालेको छ । यूएईमा भएको खेलमा नेपालले २ सय ४३ रनको जित निकालेको हो ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यस अगाडि नेपालले सिंगापुरमाथि पनि सजिलो जित निकालेको थियो । नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटमा ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो ।
त्यसमा प्रारम्भिक ब्याटर अर्जुन कुमालले १ सय ८ र कप्तान देव खनालले १ सय २५ रनको शानदार प्रदर्शन गरे । अर्जुनले १ सय १२ बलको सामना गरेर १२ चौका प्रहार गरे । यस्तै देवले १ सय १७ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
जवाफमा कुवेत ३०.५ ओभरमा सय रन बनाएर अलआउट भयो । नेपाली बलरमध्ये आकाश चन्दले ४३ रन दिएर ६ विकेट लिए । यस्तै हेमन्त धामी र दीपेश कँडेलले २/२ विकेट लिए । कुवेती ब्याटरमध्ये प्रारम्भिक ब्याटर जुड क्रिस्टोफरले २६ रन बनाए र यो नै पूरा इनिङ्सको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो ।
Leave a Reply