Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल पक्का !

    कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल पक्का !

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 906
    SHARES

    काठमाडौं । आठ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै कांग्रेसबाट राष्ट्रपति हुने लगभग पक्का भएको छ ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव राखेपछि बैठकमा सहभागी कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएपछि नेपाली कांग्रेसको उम्मेदवार नै राष्ट्रपति हुने वातावरण बनेको हो ।



    अब राष्ट्रपति पदमा कांग्रेसले कसलाई उम्मेदवार बनाउछ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला राष्ट्रपतिको दौडमा रहेका छन् । कांग्रेस भित्र सभापति शेरबहादुर देउवा राष्ट्रपति बन्नु पर्छ भन्ने हरु पनि रहेका छन् ।



    तर सभापति देउवा भने यस पटक रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने पक्षमा देखिएका छन् । पछिल्लो समय पौडेलले आफ्नो राजनीतिक क्यारियर नै दाउमा राखेर देउवालाई सहयोग गरेका थिए । पछिल्लो महाधिवेशनमा देउवालाई सभापतिमा निर्वाचित गराउन पौडेल तटस्थ बसेका थिए भने संसदीय दलको नेताको निर्वाचनमा पौडेलले देउवालाई खुलेर सहयोग गरेका थिए । साथै प्रधानमन्त्री प्रचण्ड पनि पौडेललाई राष्ट्रपति बनाउन सकारात्मक देखिएका छन् ।

    त्यसैले भोलि पौडेल र सिटौला मध्ये एक उम्मेदवार हुने सम्भावना छ । कांग्रेसका शीर्ष नेताहरुका अनुसार कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम करिब टुंगिए जस्तै हो ।

    यद्धपी कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शनिबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ । सो बैठकले भावी राष्ट्रपतिको उम्मेदवारका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार