काठमाडौं । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ ।
बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो ।
करिब साढे ३ घण्टा लामो बालुवाटार बैठक सहमतिबिनै सकिएपछि चार दलले साँझ ५ बजे फेरि बैठक गर्ने भएका छन्।
बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए । बिहानको बैठक राष्ट्रपतिमै केन्द्रित भएको उनले बताए ।
उनले भने, ‘आज बिहान पनि चार दल एक ठाउँमा बसेर लामो छलफल गर्यौँ। विभिन्न विकल्पका बारेमा प्रस्ताव आए। छलफल सकारात्मक भएको छ। आन्तरिक छलफल पछि आजै साँझ पाँच बजे फेरि बैठक बस्ने गरी हामी उठेका छौँ।’
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए। शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
मनोनयन दर्ताको मिति नजिकिएपछि दलहरू छलफललाई तीव्र बनाउन थालेका छन्। आजको चार दलको बैठकलाई चुनाव अघिको पाँचदलीय गठबन्धन ब्युँताउने प्रयासका रुपमा पनि लिइएको छ।
Leave a Reply