सिन्धुली । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।
सिन्धुलीमाडीमा आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताए । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउँदै उनले त्यस्तो सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने समेत बताए ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।