काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रुकुम प्रदेशसभा २ बाट बागी उम्मेदवारी दिएका केशव रावलले कारबाही फिर्ता लिन माग गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै जिल्ला इन्चार्ज तेजबहादुर ओलीको निर्देशनमा बागी उम्मेदवारी दिएकाले कारबाही निशर्त हुनुपर्ने माग गरेका हुन् ।
आफूले जिल्ला इन्चार्ज ओलीसँगको सल्लाहमा प्रदेश सभामा बागी उम्मेदवारी दिए पनि आर्थिक चलखेल भएपछि फिर्ता नलिएको रावलले बताएका छन् ।
काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित धनबहादुर केसीसँग जिल्ला माओवादी जिल्ला इन्चार्ज ओलीले आर्थिक लेनदेन गरेको आरोप लगाए।
उनले पत्रमा भनेका छन्, ‘उम्मेदवारी फिर्ता नलिने सर्तमा दिएको उम्मेदवारी किन फिर्ता लिन भन्नु भएको भन्ने कुरा पछिल्ला दिनमा खुल्यो कि उहाँले मेरो उम्मेदवारी फिर्ता गराए बापत कांग्रेसका उम्मेदवारबाट आर्थिक सहयोग प्राप्त गर्ने गरी डिल भएको रहेछ, उम्मेदवारी फिर्ता लिएमा मलाई पनि ५० औँ लाखको आर्थिक लोभ देखाइएको थियो।’
उनले आफ्नो इमानलाई पैसासँग साट्न नचाहेको र उम्मेदवारी फिर्ता लिँदा पैसा लेनदेन गरी फिर्ता लिएको भ्रम पैदा हुने र पार्टी राजनैतिक जीवनमा धक्का लाग्ने अवस्था आउने आँकलन गरेर उम्मेदवारी फिर्ता लिन नसकेको उल्लेख गरेका छन्।\
उनले आफू दोषी नभएको उल्लेख गर्दै आफूलाई सहयोग गर्दा पार्टीले कारबाही गरेकाहरूको कारबाही खारेजी गर्न माग समेत गरेका छन्।

