Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काठमाडौं महानगर विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट

    काठमाडौं महानगर विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 651
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका छन्। उक्त कार्यक्रमको लागि जम्मा दुई सय चार वटा प्रस्ताव परेको थियो।

    उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको सामाजिक समितिको बैठकले बजेटको सीमाभित्र परेका अधिकतम अंक प्राप्त गर्ने र कागज तथा प्रमाण पूरा भएका प्रस्ताव छनोट गरेको हो।



    प्राप्तमध्ये आङ्शिक कागजपत्र र प्रमाण नपुगेका एक सय तीन वटालाई प्रतीक्षा सूचीमा राखिएको छ। एक सय अंकमा गरिएको मूल्यांकनका सूचकमा कार्य अनुभव, जनशक्ति, कार्यक्रम अवधि, प्रस्तावित कार्यक्रममा सहभागी हुने लक्षित वर्ग र संख्या, भौतिक संरचना, रोजगारी, लागत सहभागितालगायत शीर्षकमा अंक प्रदान गरिएको थियो।



    बैठकले सचेतनामूलक कार्यक्रमका लागि दुई लाख ५० हजार र रोजगारमूलक कार्यक्रमका लागि पाँच लाख उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ। अनुदान प्राप्त गर्नेले सम्झौतापछि ६० प्रतिशत र कार्य सम्पन्न भएको प्रतिवेदन पेस गरेपछि बाँकी ४० प्रतिशत रकम पाउनेछन्। गत पुस २१ गते बसेको समितिको बैठकले प्राप्त प्रस्ताव मूल्याकन गर्न वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सूचक निर्धारण तथा छनोट समिति गठन गरेको थियो। समितिको सदस्यमा कार्यपालिका सदस्य महेश नेपाली र ललिता खड्गी थिए।

    कामपामा कार्यक्षेत्र भएका गैरसरकारी संघ संस्थाले गर्ने क्षेत्रगत कामलाई संस्थागत र व्यवस्थित बनाउन महानगरपालिकाले गएको मंसिर १ गते सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको थियो। दश वटा क्षेत्रगत कार्यक्रममध्ये सबैभन्दा धेरै विभिन्न संघ संस्था, फाउण्डेशन, प्रतिष्ठान, एकेडेमीलाई कार्यक्रम सहयोग क्षेत्रमा ६४ प्रस्ताव परेका थिए। एक करोड विनियोजित कार्यक्रमका लागि ३७ वटा प्रस्ताव छनोट गरिएको छ भने २७ वटा प्रस्तावलाई प्रतीक्षा सूचीमा राखिएको छ।

    ‘नमूना छात्रा सांसद कार्यक्रम’का लागि एउटै मात्र संस्थाको प्रस्ताव परेको थियो। यो छनोट भएको छ। यो कार्यक्रमका लागि १० लाख विनियोजित छ। एक करोड विनियोजन भएको ‘खेलकुदसँग सम्बन्धित विभिन्न संघ संस्थालाई कार्यक्रम सहयोग’मा २७ प्रस्ताव आएका थिए। तीमध्ये १२ छनोट भएका छन् भने १५ प्रतीक्षा सूचीमा छन्।

    ‘लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा विरुद्धको अभियानलगायत सचेतनामूलक कार्यक्रम’का लागि २५ लाख छ। यस क्षेत्रका लागि ६१ वटा प्रस्ताव पेस भएका थिए। तीमध्ये १४ छनोट भएका छन् र ४७ प्रतीक्षा सूचीमा छन्। २० लाख विनियोजित ‘अपाङ्गताको क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य’ कार्यक्रममा १३ प्रस्ताव परेका थिए। यीमध्ये नौ वटा छनोट भएका छन्। चार प्रतीक्षा सूचीमा छन्।

    ‘विभिन्न स्रष्टाहरूको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदान’ शीर्षकमा २० लाख विनियोजन गरिएको छ। यस क्षेत्रका लागि तीन वटा प्रस्ताव पेस भएका छन्। ‘अटिजम, डाउन सिन्ड्रोम, सेरेब्रलपाल्सी र मस्तिष्क पक्षघात भएका बालबालिका लक्षित कार्यक्रमका लागि विभिन्न संघ संस्थालाई सहयोग’ कार्यक्रमका लागि सात वटा संघ संस्थाको प्रस्ताव परेको थियो। यस शीर्षकमा ६० लाख विनियोजित छ।

    त्यसैगरी, २० लाख विनियोजित ‘अपाङ्ग लक्षित खेलकुद कार्यक्रम’का लागि चार वटा प्रस्ताव पेस भएका थिए। यीमध्ये दुई वटा छनोट भएका छन्। दुई वटा प्रतीक्षा सूचीमा छन्।

    ‘दलित लक्षित कार्यक्रम सञ्चालन एवं सहयोग कार्यक्रम’मा आठ वटा प्रस्ताव पेस भएका थिए। ५० लाख बजेट विनियोजन भएको यस शीर्षकमा छ वटा छनोट भएका छन्। दुई वटा प्रतीक्षा सूचीमा रहेको बताइएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार