काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ।
थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहेको छ।
यसअघि ८ पटकसम्म साधारण तारिक र ६ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने जनाइएको छ। प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।
उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। करिब त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।