काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल हुनेछ ।
यस्तै केन्द्रीय विभाग बाँडफाँडको टुंगो लगाउने तयारी पनि माओवादीले गरेको छ । रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो ।
रवि लामिछाने नेतृत्वको पार्टीले आजसम्म गृह मन्त्रालय टुङ्गो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ । माओवादीको बैठकमा यो विषयसँगै नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।