काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले १२ महिलालाई भारतबाट उद्दार गरेको छ । ब्यूरोले इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ महिलाको उद्दार गरेको हो ।
उद्दार भइ आएका महिलाहरूमध्ये २०/३० वर्ष उमेर समूहका २ जना,३१/४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो ।
उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट मंसिर र पुस महिनामा भारत पुर्याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।
व्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरूको उद्दार गरिएको व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
नेपालबाट भारत लैजाने क्रममा जोगमनी,काकडभित्ता,जमुनाह,सुनौलिलगायतका नाकाहरू प्रयोग हुने गरेको उनले बताए । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुनेसक्ने भन्दै उनीहरूको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
Leave a Reply