काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा एकजना न्यायाधीश फेरिएका छन्।
यसअघिको इजलासमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतलाई हटाएर कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ल्याएका हुन्।
न्यायाधीश श्रेष्ठ बिदामा रहेकाले यसअघिको इजलासमा उपस्थित थिएनन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा भने यथावत् छन्।
अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले २०७५ असार ६ गते अध्यागमन विभागमा आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी गराउँदै कागजात पेस गरेका थिए।
मंसिर १२ गते गृह मन्त्रालयले लामिछानेको नागरिकता सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्न पत्र पठाएको थियो। सोसम्बन्धी फायल पनि सम्बन्धित प्रहरी कार्यालयबाट ७ दिनभित्र झिकाउन आदेश दिएको थियो।
लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहिलो पटक नागरिकता लिएका थिए। त्यसपछि उनी अमेरिका गए। २०७० फागुन ९ गते अमेरिकाको नागरिकता लिएका थिए। २०७५ साल जेठमा अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको रिट निवेदकको दाबी छ।
अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले अन्तरिम आदेश नदिएका कारण लामिछानेको मन्त्री पद तत्कालका लागि यथावत् रहेको छ।
Leave a Reply