एजेन्सी । फ्रान्सका राष्ट्रपति इमान्युअल म्याक्रोँको कर्मचारी अवकाशसम्बन्धी सुधार कार्यक्रमले वारपारको स्थिति सामना गर्नु परेको छ । म्याक्रोँको अवकाश पाउने उमेरलाई पर धकेल्ने योजनाविरुद्ध बिहीबार फ्रेन्च युनियनहरुले हडताल र विरोध प्रदर्शन गरेका हुन् ।
संसद्मा प्रस्तुत हुन लागेको नयाँ विधेयकमा मानिसहरुले ६२ नभएर ६४ वर्षको औपचारिक उमेरसम्म काम गर्न पाउने प्रावधानलाई अघि सारिएको छ ।
हडताल जुलुसका कारण अन्तरनगर तथा यात्रुवाहक ट्रेन सेवाहरु अवरुद्ध हुन पुगेका छन् । अधिकांश विद्यालय र अन्य सार्वजनिक सेवाहरु बन्द भएका छन् । मजदुर युनियनहरुले बिहीबार आयोजना गरेको देशव्यापी हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच समेत झडप भएको छ ।
राजधानी पेरिस, बोर्दो, लियोंन र मार्सेईलगायतका केही सहरमा आन्दोलनकर्मी र प्रहरीबीच तनाव झडप भएको हो । पेरिसको ऐतिहासिक स्थल प्लास दला रेपुब्लिक नजिकै केही प्रदर्शनकारीहरूले गाडीहरू जलाएका छन् ।
त्यहाँ प्रहरीमाथि ढुंगा र काठका टुक्राले प्रहार गर्न थालेपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
Leave a Reply