Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • जेलबाट छुटेपछि श्रृङ्खलाबद्ध लुटपाट, ७७ लाख लुटेपछि समातिए मनराज

    जेलबाट छुटेपछि श्रृङ्खलाबद्ध लुटपाट, ७७ लाख लुटेपछि समातिए मनराज

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 699
    SHARES

    काठमाडौं । । श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङ रहेका छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमालस्थित घर नजिकैबाट मंगलबार पक्राउ गरेको हो ।



    १० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ । सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका हुन् । जेलबाट छुटेपछि उनले गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएका थिए भने अनुसन्धानको क्रममा उनी फरार थिए । उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।



    उनले गत असार ६ गते काठमाडौं शंखरापुरको खुलालटारस्थित लालबहादुर थापाको घरमा डकैती गरेका थिए। अपरिचत व्यक्तिको समूह घरभित्र प्रवेश गरी हातहतियार देखाउँदै सुनचाँदीको गरगहना तथा मोबाइल गरी अन्दाजी २ लाख ४१ हजार रुपैयाँ बराबरको समान लुटपाट भएको थियो।

    त्योभन्दा ६ दिन पछि असार १२ गते मनराजकै समूहले शंखरापुरकै सुशीला थापाको घरमा डकैती गरेको थियो। धारिलो हतियार देखाई नगद तथा गरगहना गरी ६ लाख ५ हजार ७५० रुपैयाँ बराबरको धनामाल लुटिएको थियो।

    त्यसको ८ दिनपछि असार २० गते मनराजकै योजनामा काभ्रेको बनेपा–११ स्थित सलाम सिंह लामाको घरमा लुटपाट भएको थियो। त्यतिबेला १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो।

    एक महिनापछि साउन २४ गते कीर्तिपुरस्थित नारायण बस्नेतको घरमा पनि यो समूहले लुटपाट गरेको थियो। त्यतिबेला बेला हिरा र सुनका गरगहना गरी ५६ लाख ६५ हजार १२४ रुपैयाँ बराबरको धनमाल लुटिएको थियो।

    यी सबै घटनामा उनीविरुद्ध डाँका तथा संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेको थियो। यसभन्दा अघि पनि मनराज डकैतीमा संलग्न रहेको पाइएको छ। २०६८ सालमा उनले डकैती गर्ने क्रममा व्यक्ति हत्या समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।

    २०६८ कात्तिक २२ गते ललितपुरको झरुवाबासीमा मनराजसहित दिलबहादुर स्याङ्तान, दीपक भनिने आकाश तामाङ, सागर भनिने खड्गबहादुर तामाङ र ज्ञान दोङले डाँका गर्ने क्रममा २४ वर्षीय श्रवण खड्काको हत्या समेत गरेका थिए।

    डाँका गर्न जाने क्रममा मोटरसाइकल रोकी उनीहरुले श्रवणको हत्या गरेका थिए। उनीहरुले प्रहार गरेको गोली लागेर श्रवणको मृत्यु भएको थियो। उक्त घटनामा उनी १० वर्ष कैद भुक्तान गरेर भर्खरै छुटेका थिए। जेलबाट निस्केपछि फेरि उनले पुरानै धन्दा चलाएको पाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार