काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित मन्त्रालय पुगेर मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।
मंगलबार पदभार ग्रहण गर्दै मन्त्री लिङदेनले मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्न पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने पहिलो निर्णय भएको बताए ।
जसका लागि तीन सदस्यीय कार्य दल बनाउने उनले बताए । कार्यभार सम्हाल्दै लिङ्देनले उहाँले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने पहिलो निर्णय पनि गरे ।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनले बताए ।
उनले भने, 'भन्नेहरुले सरकारमा गयो कि बिग्रिहाल्छ जानै हुँदैन है राजेन्द्र लिङ्देनजस्ता मानिसहरु भन्थे । नेपालको सन्दर्भमा सरकार जानु, मन्त्री हुनु भनेको नै चुनौतीपूर्ण जस्तो ठानिन्छ ।
किनकि त्यहाँ गएपछि मान्छे बिग्रिन्छ नै भनेर । त्यसकारण नबिग्रेका मानिसहरु त्यहाँ जानुहुन्न भन्ने मेरो शुभेच्छुकहरुले बिहानसम्म पनि सुझाव दिइरहनु भएको थियो । लाग्छ, यो चुनौतीपूर्ण छ । तर म यसलाई अवसरमा परिणत गर्छु । मलाई त्यो दृढ विश्वास छ।’
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि एउटा महत्त्वपूर्ण अवसर भएको उनले बताए ।