काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।
आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मानिसलाई मानसिक रूपले पनि तन्दुरूस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताए।
उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउन सके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए।
भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
भौतिक रूपले सम्पन्न देशहरूमा धेरै डिप्रेसन र आत्महत्याका घटना भएको भन्दै मानसिक रूपमा पनि व्यक्तिलाई चुस्त राख्न योग आवश्यक रहेको उनले बताए।
मानिसहरूको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए।
अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले योग शिक्षालाई जनस्तरमा पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए।
Leave a Reply