Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • २० बर्षपछि बंगलादेशले हटायो नेपाली धागो निकासीमा लागेको प्रतिबन्ध, भारतको भूमिका के ?

    २० बर्षपछि बंगलादेशले हटायो नेपाली धागो निकासीमा लागेको प्रतिबन्ध, भारतको भूमिका के ?

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 1.1K
    SHARES

    एजेन्सी। बंगलादेशले महत्वपूर्ण निर्णय गर्दै  नेपालबाट  बंगलाबन्ध ल्यान्डपोर्टमार्फत धागो आयात गर्न अनुमति दिएको छ । ढाकास्थित नेपाली दूतावासले ट्विट गर्दै यसको पुष्टि गरेको हो ।

    नेपाली दूतावासले आफ्नो ट्विटमा भनेको छ, ‘नेपालबाट धागो निकासीकर्ताहरूका लागि बंगलाबन्ध भूमि बन्दरगाह खुला गरिएको छ। दुई दशकदेखि यस बन्दरगाहबाट नेपाली धागो निकासीमा लागेको प्रतिबन्ध अब हटेको छ।’



    नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल र बंगलादेशबीचको व्यापार प्रवद्र्धनका लागि यो महत्वपूर्ण कदम साबित हुनेमा आफूलाई पूर्ण विश्वास रहेको जनाएको छ ।



    सन् २००२ मा बंगलादेशले बंगलाबन्ध बन्दरगाहबाट नेपाली धागो आयातमा प्रतिबन्ध लगाएको थियो । बंगलादेशले आफ्नो देशका धागो उत्पादकहरुको हित जोगाउन यस्तो निर्णय गरेको थियो ।अहिलेसम्म बंगलादेशले बेनापोल ल्यान्ड पोर्ट र चटगाउँ बन्दरगाहबाट मात्रै नेपाली धागो आयात गर्न दिने गरेको थियो । हालसम्म नेपाली निकासीकर्ताले चटगाउँ बन्दरगाहबाट सामान पठाउने गरेकाले लागत बढेको छ ।

    नेपाल एक भूपरिवेष्ठित देश हो र बंगलाबन्ध यसका निर्यातकर्ताहरूको लागि आफ्नो सामानहरू देश बाहिर ढुवानी गर्न सबैभन्दा नजिकको बन्दरगाह हो। नेपालले बंगलादेश सरकारसँग धेरै वर्षदेखि यो माग गर्दै आएको थियो। बंगलादेश सरकारले यो राहत एक वर्षका लागि मात्र दिएको हो ।

    नेपाल पोलिष्टर धागोको प्रमुख निर्यातकर्ता हो र नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ३ अर्ब ३ करोड रुपैयाँ बराबरको धागो निर्यात गरेको छ ।

    बैंकका अनुसार आर्थिक वर्ष २०२१-२२ मा नेपालले धागो निर्यातबाट ९ अर्ब ५१ करोड नेपाली रुपैयाँ आम्दानी गरेको छ । जहाँ २०२०-२१ मा यो आम्दानी ७ अर्ब ३४ करोड नेपाली रुपैयाँ थियो ।

    ढाकास्थित सेन्टर फर पोलिसी डायलग (सीपीडी)का अनुसन्धान निर्देशक तथा वरिष्ठ व्यापार विश्लेषक गुलाम मोअज्जमका अनुसार बंगलादेशको तयारी पोशाक क्षेत्र व्यापारमा बढ्दै गएको छ र सरकारको यो निर्णयले उनीहरूलाई कच्चा पदार्थ आयातको स्रोत बढाउन मद्दत गर्नेछ।

    बीबीसीसँग कुरा गर्दै गुलाम मोअज्जमले भने, ‘बंगलादेश आफ्नो गार्मेन्ट क्षेत्रका लागि कच्चा पदार्थ आयातमा धेरैजसो चीनमा निर्भर थियो, तर अब नेपालबाट पनि कच्चा पदार्थ आयात गर्न सकिन्छ।’

    बंगलादेशको यो निर्णयलाई नेपाल सरकार र निर्यातकर्ताले स्वागत गरेका छन् ।

    नेपाल गार्मेन्ट संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बंगलादेशले बेनापोल बन्दरगाह प्रयोग गर्न जग्गा दिएको तर भारतले नेपाली निर्यातकर्तालाई आफ्नो तर्फबाट पेट्रोपोल चेकपोस्ट प्रयोग गर्न नदिएको बताए ।

    बंगलादेशले बंगलाबन्ध खोल्ने निर्णय गरेको छ भने भारतले फुलबारी चेकपोस्ट खोल्ने निर्णय गरेको छ ।

    बीबीसीसँगको कुराकानीमा उनले बंगलादेश र भारत दुवैलाई धन्यवाद दिँदै यसले नेपाल र बंगलादेशको व्यापारमा थप वृद्धि हुने बताए ।

    पशुपति देव पाण्डे पनि गुलाम मोअज्जमको कुरालाई अगाडि बढाउँदै बंगलादेशले गत वर्ष ३१ अर्ब डलरको गार्मेन्ट निर्यात गरेको र त्यसका लागि थप कच्चा पदार्थको आवश्यकता रहेको बताउँछन् । उनका अनुसार यसबाट नेपाल, भारत र बंगलादेश तीनवटै देश लाभान्वित हुनेछन् ।

    नेपाल कपडा संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले पनि यस निर्णयको स्वागत गर्दै नेपालमा उत्पादन हुने सबै धागोलाई बजार चाहिने बंगलादेशको यो निर्णयले नेपाली निर्यातकर्तालाई ठूलो फाइदा हुने बताए ।

    उनले यस विषयमा भारतले पनि पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल–बंगलादेशको व्यापार कस्तो छ ?
    बंगलादेशलाई स्वतन्त्र राष्ट्रको रूपमा स्वीकार गर्ने नेपाल विश्वको सातौं राष्ट्र थियो।  नेपाल र बंगलादेशबीच सन् १९७६ मा पहिलो पटक व्यापार, पारवहन, नागरिक उड्डयन र प्राविधिक सहयोगका क्षेत्रमा चारवटा सम्झौतामा हस्ताक्षर भएको थियो ।

    सन् १९७८ मा दुई देशले अर्थमन्त्री स्तरमा नेपाल–बंगलादेश संयुक्त आर्थिक सहयोगको गठन गरेका थिए ।

    सन् १९९७ मा बंगलादेशले काँकडभिटा–फुलबारी–बंगलाबन्ध ट्रान्जिट रुटको उद्घाटन गरी नेपाललाई मोङ्ला बन्दरगाह प्रयोग गर्न अनुमति दिएको थियो । तर, नेपाली निर्यातकर्ताले भारत–नेपाल र भारत–बंगलादेश सीमामा धेरै समस्या भोग्नुपरेको कारण नेपालले उक्त बन्दरगाहको खासै उपयोग गर्न सकेन ।

    दक्षिण एसियाली अध्ययन संस्थानको प्रतिवेदन अनुसार सन् २०१९ मा नेपालले बंगलादेशमा १२ मिलियन अमेरिकी डलरको निर्यात गरेको थियो भने बंगलादेशले ४८.६ मिलियन अमेरिकी डलरको नेपाल निर्यात गरेको थियो ।

    सोही प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालले करिब ६० मिलियन अमेरिकी डलरको निर्यात गरेको थियो भने बंगलादेशले १ करोड ३० लाख अमेरिकी डलरको नेपाल निर्यात गरेको थियो ।

    नेपाल र बंगलादेश सार्कका संस्थापक सदस्य हुन् । यसबाहेक बहुक्षेत्रीय प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र बंगलादेश, भुटान, भारत, नेपाल इनिसिएटिभ (बीबीआईएन) जस्ता संस्थाहरूमा पनि दुवै देश सक्रिय छन्।

    गुलाम मोअज्जमका अनुसार दुई देशबीच निकै राम्रो सम्बन्ध भए पनि व्यापार अझै न्यून छ । उनका अनुसार नेपाली जनताको क्रयशक्ति निकै कम छ र बंगलादेशलाई चाहिने कच्चा पदार्थ पनि नेपालसँग उपलब्ध छ ।

    नेपाल दुई शक्तिशाली छिमेकी चीन र भारतले घेरिएको छ । नेपाल र बंगलादेश बीचको दूरी मात्र २२ किलोमिटर छ। भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुडी करिडोरले नेपाल र उत्तरी बंगलादेशलाई जोड्छ। यो करिडोरलाई चिकन नेक पनि भनिन्छ।

    तर, बंगलादेश पुग्न नेपाललाई भारत चाहिन्छ र यसका कारण भारतको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

    नेपाल धेरै हदसम्म भारतमा निर्भर छ। नेपालले आफ्नो आवश्यकताको ८० प्रतिशत भारतबाट आयात गर्ने र कुल निर्यातको ८० प्रतिशत भारत पठाउने पुष्पदेव पाण्डे बताउँछन् ।

    नेपाल र बंगलादेशले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने कुरा गरिरहेका छन् । नेपालमा जलविद्युत र बंगलादेशको ग्यास दुई देशबीचको सहकार्यको ठूलो कारण हुनसक्छ ।

    नेपालले सन् २०१९-२४ को पञ्चवर्षीय योजना अन्तर्गत विभिन्न जलविद्युत आयोजनामा ​​करोडौं रुपैयाँ खर्च गरिरहेको छ । नेपालमा हाल १२५० मेगावाट बिजुली उत्पादन भइरहेको छ । यसलाई बढाएर नेपाल ५ हजार मेगावाट पुर्याउन चाहन्छ ।

    नेपालले बंगलादेशलाई बढी बिजुली बेच्न सक्छ तर त्यसका लागि भारतले आफ्नो प्रसारण ग्रिडलाइन प्रयोग गर्न दिनु आवश्यक छ।

    काठमाडौंस्थित एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)का संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा नेपाल उद्योग परिसंघ (सीएनआई)का सल्लाहकार सुनिल केसी नेपाल र बंगलादेश दुवैले भारतको एनटीपीसीलाई ५० मेगावाट हरित ऊर्जा उत्पादन गर्न अनुरोध गरेको बताउँछन् ।  तर, चार महिना बितिसक्दा पनि भारतले अनुमति दिएको छैन ।

    केसी भन्छन्, ‘भारतले आफ्ना दुवै छिमेकीलाई ऊर्जाको क्षेत्रमा सहयोग गर्न मद्दत गर्नुपर्छ, जुन बीबीआईएन इनिसिएटिभका लागि गेम चेन्जर साबित हुन सक्छ।’

    एआईडीआईएका संस्थापक केसी थप भन्छन्, ‘अब नेपाल र भारतले रोटी–बेटीको सम्बन्धभन्दा बाहिर गएर एकअर्काबीच व्यावसायिक सम्बन्ध स्थापना गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार