काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले तीन जनालाई मन्त्री बनाउने तयारी गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेताहरुसँगको छलफलपछि महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।
अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् ।
माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रालय भागवण्डामा करिब सहमति जुटेको स्रोतले बताएको छ ।
सत्ता साझेदार दलहरूबीच माओवादी केन्द्रले ५, रास्वपाले १ राज्यमन्त्रीसहित ४, राप्रपाले ३, जसपाले २ वटा मन्त्रालय लिनेबारे समझदारी भएको छ । यसअनुसार चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुटेका छन् । मन्त्रिपरिषद्लाई शनिवारसम्ममा पूर्णता दिने बताइएको छ ।