धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि सूचना टाँस गरि स्थगित भएको हो ।
बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनस् मतदान गर्ने समय तोकिएको थियो ।
तर बिहान बसेको सर्वदलीय बैठकमा पुन मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले १५ पुसमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
उक्त समयअनुसार ३० पुसमा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । यहाँ सभामुखमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेस गठबन्धनबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।
बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका आवश्यक पर्ने मत ल्याउन सकेनन् । कुल ५० मत खसेकोमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए भने एक मत बदर भयो ।
बैठकमा सहभागी भए पनि एमालेका चक्र मल्ल निर्धारित समयभित्र प्रदेशसभा भवन भित्र जान नसक्दा मतदान गर्नबाट वञ्चित भएका थिए भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी अनुपस्थित थिए ।