काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उपत्यका अन्तर्गतका विभिन्न आयोजनाका ठेकेदारले काम सम्पन्न गर्न समयसीमासहित लिखित वाचा गरेका छन् ।
बनिसकेका सडक विभिन्न निकायले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता समस्या दोहोरिन नदिन भन्दै बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका थिए ।
मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले लिखित प्रतिवद्धता जाहेर गरेका हुन् । निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
‘भविष्यमा सबै निकायले एकीकृत योजना बनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘एकले अर्कालाई दोष दिएर होइन परिणाम आउने गरी काम गर्नु जरुरी छ ।’ विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको उनको भनाई छ ।
मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो उसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशनसमेत दिएका छन् ।
बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र मातहतका सहसचिवहरूको उपस्थिति थियो ।
Leave a Reply