Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाल्पा बस दुर्घटनाका मृतकप्रति प्रधानमन्त्री प्रचण्डद्धारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएराति पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ‘प्रचण्डले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सँगसँगै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु ।'

गएराति रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना हुँदा एकै गाउँका ६ महिलाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका छन् ।

दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक सबै रैनादेवी छहरा–८ खुसार्ने गाउँ कै हुन् । दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077