काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा अपराजित यात्रा कायमै राखेको छ। फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको हो ।
नियमित दुई इनिङको खेल एक सय ३७ रनमा बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ रन जोडेको थियो।
लुम्बिनीका लागि मिलान्थाले लगतार दुई छक्का प्रहार गर्दै फार वेस्टसामू खेल जित्न २० रनको लक्ष्य प्रस्तुत गराएका थिए। फार वेस्टको तर्फबाट क्रिजमा उत्रिएका हस्मतुललाह शाहिदी र विनोद भण्डारीको जोडीले १० रन मात्रै बनाउन सके।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको फार वेस्टले ६ विकेटको क्षतिमा एक सय ३७ रनको योगफल तयार गरेको थियो। दोस्रौ इनिङमा लुम्बिनीले ९ विकेट गुमाएर योगफलमा बराबरी गरेको थियो।
लुम्बिनीका लागि नवौं ब्याटर गुल्शन झाले २४ बलमा अविजित ३६ रनको इनिङ खेल्दै खेल बराबरी गराएका थिए। लुम्बिनीका ओपनर लहिरु मिलान्थाले २० बलमा दुई चौका र चार छक्क्कासहित ३४ रनको इनिङ खेलेका थिए। यस्तै विपुल शर्मा २७ बलमा ३१ रन जोडेर पेभेलियन फर्किएका थिए।
बलिङतर्फ फार वेस्टका लागि करण केसी र शेर मल्लले दुई–दुई विकेट लिए। यस्तै, रशिद खान, उमार अली हस्मतुल्लाह शाहिदी र भुवन कार्कीले एक–एक ब्याटरलाई पेभेलियन फर्काएका थिए।
पहिलो इनिङमा फार वेस्टका लागि ओपनर देव खनालले ४२ बलमा पाँच चौकासहित ४८ रनको इनिङ खेलेका थिए। यस्तै, कप्तान शाहिदी ३२ रनमा पेभेलियन फर्किँदा करण केसी १२ मा अविजित रहे।
लुम्बिनीका लागि शाड्ली भान स्कालक्यकले दुई तथा हर्मित सिंह, किशोर महतो, सागर ढकालले एक–एक विकेट लिएका थिए।
Leave a Reply