रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।
सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।
रौतहटको राजदेवी नगरपालिका=९ ब्रम्हपुरीस्थित बोर्डर आउटपोष्ट बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल नेतृत्वको टोलीले मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको ११८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले जनाएको छ ।
बोलेरोको मूल्य ५ लाख कायम गरी बरामद गरिएको ६ लाख २० हजार मूल्य बराबरको सामाग्री गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।