काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।
बुधबार संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि उनले देउवाको जिम्मेवारी गौरवमय बन्ने अपेक्षा गरेको बताएका हुन् ।
थापाले भने, ‘संसदीय दलको नेतामा पटक-पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ। उहाँलाई शुभकामना छ। उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस्।’
निर्वाचन परिणामलाई स्वीकार गर्दै सांसद र महामन्त्रीको भूमिका प्रभावकारी रूपमा अघि बढाउने थापाले बताए।
गगनले थपे, ‘यो मेरो लागि अपेक्षाकृत होइन । तर, म यो परिणामबाट निराश हुन्न । थप मिहिनेत गर्छु । किन संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने कुरा निरन्तर लगिराख्छु ।
कुनै एउटा समय आउँछ बहुसंख्यक साथीहरूले यसलाई महसुस गर्नुहुन्छ । त्यो बेलामा सुखद परिणामको आशा छ ।’
कांग्रेसका बहुमत सांसदहरू संसदीय दललाई नयाँ रूपले सञ्चालन गर्ने आफ्नो प्रस्तावको पक्षमा नरहेको देखिएको उनले बताए।
संसदीय दलको निर्वाचनमा सभापति देउवाले ६४ र थापाले २५ मत प्राप्त गरेका छन्। आफूले पाएको मत अपेक्षाभन्दा कम भएको उनको भनाइ छ।
Leave a Reply