काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ ।
मतदान बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदान केन्द्रमा मोबाइल लैजान पाउनु पर्ने र हुँदैन भन्ने पक्षको विवाद हुँदा केही समय ढिलो गरी सुरु भएको हो । निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा छन् ।
यता निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले मतदानमा क्यामेरा लिने र तस्बिर खिच्नेकुरा विधिसम्मत नहुने भन्दै विरोध जनाएका छन् । साथै देउवा पक्षले मतदान गरेको तस्बिर खिच्न सर्कुलरसमेत गरेको बुझिएको थियो ।
अन्तः मोबाइल लैजान नपाउने विषयमा सहमति भए पछि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा मतदान सुरु भएको हो । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ । यस्तै नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मतदाता नामावली हेरेर मात्र सांसदहरूलाई भित्र प्रवेश गर्न दिइएको छ । मतदानस्थलमा बहालवाला मन्त्रीहरूलाई प्रवेशगर्न दिइएको छैन । गृहमन्त्री बालकृष्ण खाँण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीहरूलाई सुरक्षाकर्मीले रोकेका थिए ।
Leave a Reply