काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन् ।
सोमबार चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताएका हुन् ।
प्रचण्डले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन । मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’
प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए ।
प्रचण्डले भने, ‘प्रधानमन्त्रीका बारेमा लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’
उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताए ।
Leave a Reply